काठमाडौं । ६० किलो र ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानमा संलग्न प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले समिति बनाएको छ।
सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्न समिति बनाएको हो।
गृहका सूचना अधिकारी एवं उपसचिव एकदेव अधिकारीका अनुसार कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन्।
तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले चैत १ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनले अनुसन्धान सिआइबीको कमजोरी समेत देखाएको थियो।































