काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले आकर्षक ओपनिङ गरेसँगै दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ कलेक्सन भएको छ । देशभर उच्च शो पाएको चलचित्रले काठमाडौंभित्र र बाहिर राम्रो कमाई गरेको हो ।
निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको छ ।
शनिबार एक करोड ८३ लाख गरी दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको छ ।
चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । ‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ ।
आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।




























