बालकुमारी घटनामा खटिएका डिएसपी र मन्त्रीका पिएसओ निलम्बित

काठमाडौं । सरकारले बालकुमारी घटनामा खटिएका सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक रिएसपी उमेश जोशी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

घटनामा संयमता कायम गर्न नसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।
फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही स्वरुप यस्तो निर्णय गरेको उनले बताए ।

यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ।
यस्तै, सरकारले इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि प्रहरी र प्रदर्शनकारी युवाहरुबीच दोहोरो झडप हुँदा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। प्रहरीले सो घटनामा गोली समेत चलाएको थियो ।