काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई बहुमत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत पाएका हुन ।
त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुई तिहाई सांसदले समर्थन गरे । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रतिनिधिसभामा १८४ मतले दुई तिहाई पुग्छ। ओलीले त्यसभन्दा बढी मत पाएका छन् ।
गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।
प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए ।
































