सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेखले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ कालीकोट निर्वाचित भएका छन् ।
विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् ।
अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् ।
रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् । स्थानीय तह तर्फ गठबन्धनका एक एकजनाले फ्लोर क्रस गरेर एमालेका उम्मेदवारलाई मतदान गरेका छन् ।
७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेका छन् ।































