काठमाडौं । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।
दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले ४९ औं दीक्षान्त समारोह भईरहेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।
बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिएको छ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू भएको छ ।
त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुनेछन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।
अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदैछ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फगरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिनेछ ।
दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील र पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ ।
ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने दाहालले बताए ।































