हुम्ला । हुम्लामा हिमपात भएको छ। शुक्रबार बिहान हुम्ला सदरमुकाम सिमकोटमा चार इन्चसम्म जम्नेगरी हिमपात भएको स्थानीयले बताएका छन्।
उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ।
शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको हो। हिमपातका खेतिपातीका लागि अनुकूल भएपछि किसानलाई राहत भएको छ।पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् ।
हिउँबिना हुम्लीको जीवन चल्दैन भन्दा पनि हुन्छ । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ ।
हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ।nशनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ।
































