हामीलाई बेरोजगार नबनाऊ: कर्णाली सांसद

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरूले सरकार र सदनले काम नदिँदा बेरोजगार जस्तै बस्नु परेको बताएका छन् ।
प्रदेश सभा बैठकमा सोमबार सांसदहरूले छलफल गर्नुपर्ने विषय धेरै भए पनि सांसदहरूलाई बेरोजगार बनाइएको बताएका हुन् ।

सांसद भीमप्रकाश शर्माले सांसदहरूलाई यसरी बेरोजगार बनाइनु उपयुक्त नभएको बताए ।
उनले भने “हामीलाई लाग्छ, बिजनेस धेरै छ, विभिन्न नियमावली, ऐन, नियमहरू प्रस्तुत भइरहेका छन् ।अब महिनौँ दिनपछि संसद् बस्ने भन्ने कुरा छ। यसरी सांसदहरूलाई बेरोजगार नबनाइयोस्।”

सांसद देवेन्द्रबहादुर शाहीले सांसदहरू पूर्ण बेरोजगार भएको बताए।
यो विषयमा सरकार तथा सभामुखले गम्भीर रूपमा ध्यान दिन आवश्यक रहेको बताउँदै शाहीले भने, ‘सांसदलाई काम दिने जिम्मेवारी पनि सरकारको हो जस्तो लाग्छ। विधेयक आउन थुप्रै बाँकी छन्, केही आएर थुप्रेका छन्।’

योजना आयोग बल्ल गठन भएको भन्दै आयोगका पदाधिकारीलाई पनि सांसद जस्तै बेरोजगार नबनाई काम दिन उनले आग्रह गरे । धेरैजसो सांसदले आफूहरूले काम नपाएको भन्दै संसद्लाई नियमित सञ्चालन गर्नुपर्ने बताएका थिए ।

त्यस्तै सांसद कलबहादुर हमालले संसद्लाई अझै व्यवस्थित बनाइनुपर्ने र सांसदले उठाएका कुरा कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताए ।