सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेमा अवस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरेको छ।
बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो पटक ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए।
पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले क्यानोनिङ र रक क्लाइम्बिङमा लगानी गरेको गाउँपालिकाले जनाएको छ।
ठूलो छाँगामा क्यानोनिङका लागि तीन स्तरको झरना रहेको स्थानीय युवा प्रितम गोले तामाङले बताए।
उनले भने “माथिल्लो झरना करिब ९ मिटरकोमा आधारभूत अर्थात सिकारुलाई सिक्न, बीचको करिब १२ मिटरको झरनामा सिकेर केही जान्नेलाई र तल्लो अर्थात १७ मिटरको तेस्रो झरनामा ‘एडभान्स’का लागि उपयुक्त रहेको छ।”
बलेफी भित्र यस्तै थुप्रै पर्यटकीय सम्भावनाहरु भएको स्थानहरु रहेकोले ती स्थानहरुलाई प्रवर्द्धन गर्न लागि परेको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बताए।
उनले बलेफीमा सहासिक खेल र्याफ्टिङसँगै क्यानोनिङ र रक क्लाइम्बिङ थपिएकोमा खुशी व्यक्त गरे।































