कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारमा कारबाही गर्ने पाँचदलीय गठबन्धनको संकल्प

काठमाडौं । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारमा छानविन गरी कारबाही गर्ने पाँच दलीय न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका हुन्।

साझा संकल्प अनुसार कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गरिनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयसँग सम्बन्धित विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी माथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने’ न्युनतम साझा कार्यक्रममा भनिएको छ ।