प्रधानमन्त्री प्रचण्डलाई सांसद कार्चेनका चार प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटे (कार्चेन) ले हिमाली क्षेत्रको विकासमा सरकारले ध्यान नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा माग लिंदै सांसद छिरिङले हुम्लामा राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रसारण लाइन नजोएको बताए ।

कर्णाली करिडोर अन्तर्गतको खुलालु–सलिसल्लाको बहुवर्षे ठेक्कामा पहिलेका अर्थमन्त्रीले सहमति समेत नदिएको उनले बताए ।

नयाँ अर्थमन्त्रीले सहमति दिनुहुन्छ की हुँदैन भन्दै प्रश्न पनि गरे । ‘मृत्युमार्ग’को रुपमा परिचित कर्णाली करिडोलाई जीवनमार्गमा कहिले बदल्ने भन्ने पनि उनले प्रश्न गरे । ।

अबको बजेटमा हिमाली जिल्ला हुम्लालगायत दुर्गम क्षेत्रलाई समान बजेट वितरण गर्न पनि उनले माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी काम भइरहेको बताए । कर्णाली करिडोरको सुधारको काम पनि भइरहेको उनको भनाइ छ ।

खुलालु–सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षे ठेक्का आह्वान गरिने प्रधानमन्त्री प्रचण्डले बताए । साथै आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोलाई उच्च प्राथमिकतामा राखिने बताए ।

हिमाली क्षेत्रमा विद्युत् विस्तारको कामसमेत भइरहेको प्रधानमन्त्रीले बताए । हुम्लालगायत हिमाली क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको र हुम्लालाई उच्च प्राथमिकतामा राखिने बताए ।