विराटनगर । विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेका छन् । उनीहरु आज उपमहानगरपालिका परिसरमा पुग्दा तनाव बढेको हो ।
उपमहानगर परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए ।
अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका थिए ।
त्यसको केही दिनअघि साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।































