सेनाको हेलिकप्टरमा गृहजिल्ला पठाइँदै बालकुमारीमा ज्यान गुमाएका सुजन र वीरेन्द्रको शव

काठमाडौं। ललितपुरको बालकुमारीमा मारिएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ ।
नेपाली सेनाका स्काई ट्रक एन ए–०६४ हेलिकप्टरमार्फत गृह जिल्लामा पठाउन उनीहरूको शव विमानस्थलमा लगिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दुबै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम पछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सुरुमा दुबैजनाको शव सुर्खेत लगिनेछ । त्यहाँबाट हेलिकप्टरमै सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।
गत शुक्रबार रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको आन्दोलनमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका थिए।

सुजन रावतको छातीमा निलडाम देखिएको थियो । सुजनलाई गोली नलागेको तर, भाग दौडमा मृत्यु भएको हुनसक्ने र अछामका वीरेन्द्र शाहको पेटमा गोली लागेको थियो  ।