काठमाडौं । बलात्कार अभियोगमा दोषी भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्ने भएको छ । उनलाई दोषी ठहर करार गरिएसँग आजको पेशीमा सजाय तोक्न लागिएको हो ।
पुस १३ गते जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए ।
आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने पनि बताइएको छ ।
जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् ।
२०७९ भदौ २१ गते राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।





























