हुम्ला । ताँजाकोट गाउँपालिका ५ की २३ वर्षीया अंशु बुढा सुत्केरी भएको ११ दिन मात्रै पुगेको थियो । त्यसदिन उनी विहान नुवाइधुवाइका लागि पधेँरोमा पुगिन । त्यहाँ उनको एकाएक सास बढ्न थाल्यो । रिंगटा चल्यो, टाउको दुख्न थाल्यो । उच्च रक्तस्राव सुरु भयो ।
त्यसपछि उनलाई घर पुर्याइयो प्राथमिक स्याहार सुसार गरियो । त्यसले केही भएन । परिवारले हतार हतार स्थानीय स्वास्थ्य चौकी पुर्यायो । स्वास्थ्यचौकीले गाउँमा उपचार सम्भव नहुने भन्दै रेफर गरिदियो ।
जहाजमा नेपालगञ्ज लैजाने भन्दै परिवारले तीन घण्टाको कच्ची बाटो पार गरेर बाजुरा सदरमुकाम कोल्टी पुर्याए ।
जहाजका लागि सबै कागजात जुट्यो । तर, जहाज आएन । अन्तत १३ औं दिनमा अशुंको अकालमै प्राण गयो ।
कोल्टीमा जहाज कुर्दाकुर्दै अंशु कहिल्यै नफर्किने गरी विदा भएकी हुन । उनका दाजु कर्णबहादुर बुढाका अनुसार अंशुको गतवर्ष मात्रै विवाह भएको थियो । उनले पुस १२ गते छोरीलाई जन्म दिएकी थिइन ।
‘परिवारले सम्हाल्न सकिरहेको छैन् । जहाज कुर्दाकुर्दै बहिनीको प्राण गयो । एम्बुलेन्समा लैजाने तयारी पनि गरेका थियौँ । बहिनीको स्वास्थ्य अवस्था गम्भिर भएकाले बचाउन सम्भव भएन,’ उनले भने ।
जहाज सम्भव नभएपछि अंशुको परिवारले हेलिकप्टरमा नेपालगञ्ज पुर्याउने तयारी पनि गरेको थियो । हेलिकप्टरका लागि पनि परिवारले सबैतिर हारगुहार गरेको थियो । तर, हेलिकप्टर पनि आएन ।
सोमबार राति १० बजे बाजुराको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उनले ज्यान गुमाएकी छन् ।
स्वास्थ्य केन्द्रका अनुसार स्वास्थ्य केन्द्रसम्म पुग्दा उनको अक्सिजनको मात्रा एकदमै कम भइसकेको थियो ।
भौगोलिक विकटताका कारण हुम्लाले यस्तै किसिममा कैयौँ समस्याहरु झेल्दै आएको छ ।
अंशुको दाहसंस्कार भइसकेको छ । शोकमा डुबेको परिवारलाई १३ दिनकी छोरीलाई कसरी बचाउने भन्ने पीर छ ।
सुत्केरी विरामी सम्बन्धि प्रदेश सरकार र संघीय सरकारका विभिन्न कार्यक्रम भएतापनि कर्णालीले त्यसको पहुँच पुग्न सकेको छैन् ।
यो घटना पहिलो भने होइन । कर्णालीका कैयौँ सुत्केरीहरुको यसैगरी ज्यान जाने गरेको छ । कस्तो विडम्वना कैयौँ आमाहरुले अत्याधिक जोखिम मोलेर बाटोमै बच्चा जन्माउन बाध्य छिन् ।































