सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्वगाउँपालिका उपाध्यक्ष सौमत रावल ऐडीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सुत्केरी हुने समय नपुग्दै उनले शिशु जन्माउने क्रममा बेहोस हुँदा आज साँझ उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताइन् ।
ऐडीले मङ्गलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको सिनियर अनमी बोहराले बताइन् ।
मङ्गलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो ।































