काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा कार्चेनले विभिन्न काण्डको छानविनलाई रोक्ने काम नयाँ बनेको दाबी गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको सून्य समयमा बोल्दै कार्चेनले यस्तो दाबी गरेका हुन् ।
‘यही असार १५ गतेको दहीच्यूरा खाएपछि आशन र भाषण फेर्दै कसैद्धारा बनाइएको गठबन्धन अब दहीच्यूरे नबनोस् । विभिन्न काण्डलाई रोक्न गठबन्धन तटबन्धन नबनोस,’ उनले भने ।
त्यस अवसरमा सांसद लामाले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखे । ‘स्वर्ग गए सँगै जाउला, नर्क गए सँगै जाउँला यो वर्ष मेरो प्रधानमन्त्री बन्ने योगै छैन भनेकोमा अमुक मान्छेको घरमा मध्यरातमा गोप्य सम्झौता गर्नु कहाँको नैतिकता हो ?, ’ उनले भने ।
कार्चेनले धितोपत्र बोर्डको कुर्सीको कारणले सरकार ढलेको पनि दाबी गरेका छन् । ‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्यो रे । कुर्सी कस्तो खाले हो दल किन्ने, नेता किन्ने अनि सरकारै ढाल्ने,’ उनले भने ।
कार्चेन गत आम निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद हुन ।































