पहिरोले बगाउँदा नारायणीमा खसे दुईवटा बस, ६५ जना यात्रु बेपत्ता

काठमाडौं । नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज बिहान पहिरोमा २ यात्रुवाहक बस बगेका छन् ।

यस्तै सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट ३ यात्रुले हाम फालेर ज्यान जोगाएका छन् ।

वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको खुलेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालकको मृत्यु भएको छ ।