काठमाडौं । दलित महिला स्वास्थ्यकर्मीमाथि यौन हिंसा गरेको आरोपमा मुगु सोरु गाउँपालिकाको शिक्षा शाखा प्रमुखविरुद्ध मुद्धा दर्ता गरिएको छ ।
शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध जिल्ला अदालत मुगुमा मुद्धा दर्ता गरिएको हो । मल्लविरुद्ध उनले पुस ११ गते फिरातपत्र दिएकी हुन ।
मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीकी २३ वर्षीया अनमी तुलसाकुमारी विकले आफुमाथि यौन हिंसा भएको भन्दै मुद्धा हालेकी हुन ।
शिक्षा शाखा प्रमुख मल्लले कहिले आफुलाई भेटेरै र फोनमार्फत यौन हिंसा गरेको खुलाएकी छिन् ।
केही साताअघि आफुमाथि जातिय भेदभाव र यौन हिंसा भएको भन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
सोही भिडियोमा तुलसाले आफूलाई एक बर्थडे पार्टीमा मल्लले चिसो पेय पदार्थमा झुक्याई रक्सी मिलाएर खुवाई सार्वजनिक रूपमा बदनाम गरेको बताएकी थिइन ।
प्रतिवादी मल्ललाई म्याद पठाउने तयारी भइरहेको मुगु अदालतले जनाएको छ ।
तुलसालाई जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट हाल हिरासतमा छन् ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको छ ।































