काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ।
एसर्इईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको छ । त्यस्तै जापानबाट २३ जना विद्यार्थीले एसईई दिएका छन् ।
एसईई चैत २७ गतेसम्म चल्नेछ ।
































