सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन उर्फ ‘लिटिल बुद्ध’

काठमाडौं । तपस्वी रामबहादुर बम्जन उर्फ लिटिल बुद्धलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरेको छ ।

बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।

उनी मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए । सर्लाही जिल्ला अदालतले २०७६ सालमा बम्जनमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि बाल यौन दूराचारको आरोप लागेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।

५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले ब्त्ताइन ।
उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ ।