मुटुको समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौं । नागरिकता किर्ते प्रकरण सम्बन्धी मुद्दामा हिरासतमा रहेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका हुन् ।

चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।

सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले बताए।

‘मुटुको ब्लकेज समस्या आएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ, अहिले पनि ग्रान्डीमा फलोअपमा रहनुभएको बुझ्यौं’ सिंहले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । ईसीजी हेर्दा स्थिर देखिए पनि अरु समस्या बढ्ता छ । परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले ६ देखि ८ घण्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकूलता भोगेका थिए ।

उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।