धरहरामा पार्किङ बन्द गर्न पत्र आएपछि रिसाए बालेन

काठमाडौं । धरहराको निशुल्क पार्किङ बन्द गर्न शहरी विकास मन्त्रालयबाट पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन आक्रोशित बनेका छन् । उनले धरहरा उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश पोखेका हुन् ।

धरहरा निर्माणाधिन अवस्थामा छ तर महानगरले सो ठाउँमा निःशुल्क पार्किङ सुरू गरेको थियो ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने बालेनले बताएका छन्।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निस्शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं,’ बालेनले भनेका छन् ।