मुगुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु बहिनीको मृत्यु भएको छ । खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको मृत्यु भएको हो ।

प्रहरीले शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको छ । प्रहरीका अनुुसार लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत गएका छन् ।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘
छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।

उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।