हुम्ला । सर्केगाड गाउँपालिकामा देवकी तिमल्सिनाले नेकपा माओवादी केन्द्रको विरासत जोगाएकी छिन् । ४३ मतान्तरले विजय हाँसिल गर्दै सर्केगाडमा माओवादी केन्द्रको वर्चश्व कायम राखेकी हुन् ।
तिमल्सिनाले १ हजार ६३७ मत पाएर विजयी हँदा दोस्रो बनेकी नेपाली कांग्रेसकी सविता बुढाले १५९४ मत प्राप्त गरेकी छिन्।
तेस्रो बनेकी एमालेकी जाना शाहीले ११३२ मत पाएकी छिन् ।त्यस्तै राप्रपाकी उम्मेदवार संगीता शाहीले ५१ र रास्वपाकी बाँचा बुढाले २५ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवारले ९ मत प्राप्त गरेका छन् । ७७ मत बदर भएको छ ।
तिमल्सिना जनयुद्धकी जनकलाकार हुन् । उनले माओवादीमा दशकौदेखि योगदान दिँदै आएकी छिन् । उनी जनयुद्ध पत्रकारिता हुँदै माओवादी राजनितिमा आएका बौद्धिक नेता डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन् ।
तिमल्सिनाले २०६२, ०६३ सालमा माओवादीले थालेको रेडियो गणतन्त्रमा काम गरेकी थिइन् । तिमल्सिना साहित्यकार, लेखक हुन् । मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर काम गरेकी थिइन् ।
नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकार र ओवादीको मुखपत्र जनादेश दैनिकमा काम गरेकी थिईन् ।
पोलिटिकल साइन्समा एमए गरेकी तिमल्सिना माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य हुन्।
तिमल्सिनाले चुनावी मैदानमा उत्रिदै गर्दा गरेका बाचाहरु कसरी पुरा गर्छिन् भन्ने कुरा उनका लागि परिक्षा हुनेछ ।
२०७९ सालमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत ल्याएर अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की तीन हजार २६९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्ष कार्कीको गत भदौ ४ गते सुर्खेतबाट नेपालगन्जका लागि छुटेको गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन घोषणा भएको थियो।
२०७९ सालमा सर्केगाडका आठ वडामध्ये माओवादी केन्द्रले तीनमा अध्यक्ष जितेको थियो भने एमाले र कांग्रेसले दुई दुई वडा अध्यक्ष जितेका थिए । त्यस्तै, एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
प्रमुख दलहरू एक्लाएक्लै मैदानमा उत्रिएका सर्केगाडको नतिजाले २०८४ सालको चुनावलाई स्पष्ट सन्देश दिएको छ ।
सर्केगाड गाउँपालिकामा माओवादीको तिमल्सिनाले जित्नु भनेको हुम्लामा माओवादीको वर्चश्वले स्पष्ट देखिनु हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा सर्केगाडमा अध्यक्ष माओवादी र उपाध्यक्ष लिएर एमाले गठबन्धनसहित चुनाव लडेका थिए ।
उक्त चुनावमा माओवादीका कृष्णबहादुर रोकाया एक हजार ९२० मत ल्याएर अध्यक्षमा र एमालेका जोशी धामी एक हजार ८४५ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए ।































