कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विस्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्‍वासको मत लिन लागेका छन् ।

संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । सोही अनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्‌बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ ।

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेस १४ सांसद छन् ।

यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।

यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १र१ र स्वतन्त्र सांसद १ जना छन् ।