सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आइतबार कांग्रेसका चार जना मन्त्रीहरु नियुक्त भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।
८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
चार जना मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् । कांग्रेस ५ महिनाको अवधिमा पुनः सरकारमा सहभागी भएको छ ।
केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै कर्णालीमा पनि सोही समीकरण अनुसार सरकारले पूर्णता पायो । यता कांग्रेस र एमालेको गठबन्धन हुँदा नेकपा माओवादी केन्द्र भने पहिलो पल्ट प्रतिपक्षमा पुगेको छ । यसअघि हरेक पटक माओवादी सत्तामै थियो ।
यसअघि मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह छन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक छन् ।
०८० चैत्र २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अहिलेसम्म तीन पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका उनले सोमबार दोस्रो पटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।































