कर्णालीमा राजीवविक्रमको नेतृत्वमा कांग्रेस सरकारमा जाने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँने भएको छ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टका अनुसार बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएकोउनले बताए । ‘अहिले हामी प्रदेश प्रमुखज्यूको पदभार ग्रहण कार्यक्रममै छौँ । आज नै सरकारमा सहभागी हुने करिब निश्चित नै हो,’ विष्टले भने ।

तर कंग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिनसकेको विष्टले बताए । सरकारमा को सहभागी हुने, कसको नेतृत्वमा जाने भन्ने कुरा अझै टुङ्गो नलागेको पनि उनले बताए ।

शीर्ष नेताहरूले सरकारमा जाने मन्त्रीहरूको नाम पठाएपछि मुख्यमन्त्रीलाई बुझाइने उनले बताए । कांग्रेस नेता जीवनबहादुर शाही र उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीका लागि अन्तिम नामावली पठाउने छन् ।

जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने भएको छ । दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्रीका मुख्य दाबेदार हुन् ।

शाह नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले वरिष्ठताका आधारमा उनकै नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । दैलेखबाट निर्वाचित सांसद पूर्ण चालिसे र घनश्याम भण्डारी बीच मन्त्री बन्न कडा प्रतिस्पर्धा रहेको नेताहरू बताउँछन् ।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग पर्यटन वन तथा वातावरण र बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

चारमध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सल्यानका सुरेश अधिकारी इतर पक्षधर हुन् ।

कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ । त्यस्तै चार वटा कांग्रेसले सम्हाल्ने सहमति भएको छ ।