नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

हुम्ला । निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् ।

विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ ।

चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए ।
उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए ।

सवारी चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी स्थानमा भने आफूहरुले नै काम गरेको बताए ।

उनले प्रतिव्यक्ति प्रतिदिन रु दुई सयमा आफूहरुले काम गरेको बताए । उनले आफूहरुले झण्डै रु १५ लाख बराबरको काम गरेको उल्लेख गरे ।

नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएका छन् ।

सडक अवरुद्ध हुँदा एक महिनायता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको मूल्यमा वृद्धि भएको थियो ।

दुई हजार नौ सयमा भर्ने ग्यास अहिले तीन हजार पाँच सयमा भर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् ।

खार्पुदोभानमा बेलिब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् ।

सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन ।