काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिने भएका छन् । कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि सभाको बैठकअघि कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना र दुईजना स्वतन्त्र सांसद छन्।































