मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड भारत जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार भारत जानका लागि आवश्यक टोली निर्माण गरिनेछ ।बुधबार साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो दिएका थिए।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताए ।
प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्।