नाउपाको अध्यक्षमा रेशम चौधरीले पाएनन मान्यता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाको अध्यक्षमा रेशमलाल चौधरीको नाम अस्वीकार गरेको छ । द को अभिलेख अद्यावधिक गरिदिन आयोगमा दिएको निवेदनमाथि बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए ।