नेपाली कांग्रेसले मनाउँदै ७८ औं स्थापना दिवस

काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै छ ।

भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको हो ।

यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ ।

आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ ।

वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो ।

गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।

स्थापना दिवस मनाए लगत्तै नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ ।

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।