काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गृह प्रशासनले दुई जना युवाको हत्या गरेको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले यस्तो बताएका हुन । ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्यो,’ रविले भने ।
नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए। गृहमन्त्री श्रेष्ठ र प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले गोली कतिखेर चलेको भन्ने यकिन नभएको भनेको भन्दै आलोचना पनि गरेका थिए।
रविले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि पनि प्रश्न उठाएका थिए। ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ उनले भने।
गोली चलेर मानिस ढलिसकेपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको भिडिओहरू बाहिरिएको लामिछानेले बताएका छन्।
































