काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको बालकुमारी घटनाको विरोधमा सरकारलाई १० वटा प्रश्नको जवाफ मागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर रास्वपाको र्याट विभागले ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो ।
कोरिया जानका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएका विद्यार्थीहरुले फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।
रास्वपाले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरु
१. रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू ?
२. प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?
३. सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो प्रधानमन्त्रीज्यू ?
४. जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू ?
५. मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू ?
६. सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू ?
७. गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू ?
८. निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार ?
९. भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी ?
१०. इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि ?
































