पाल्पामा नगरपालिकाको ब्यानर छोपेर काँग्रेसको ब्यानर राख्नु गम्भिर लापरवाही भएको भन्दै गगनले मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् ।
नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएकोमा माफी मागेका हुन ।
नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो । त्यो सम्मेलनको प्रमुख अतिथि महामन्त्री गगन थापा थिए ।

बुधबार बिहान थापाले सामाजिक सञ्जालमार्फत् नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही भएको बताएका छन् । ‘यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहान्छु,’ थापाले लेखेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।’

कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो ।