काठमाडौं । विराटनगरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । विराटनगरको सातघुम्तीमा रहेको कवडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि भएको आगलागीमा परी मृत्यु भएको हो ।
त्यस्तै चारजना घाइते भएका छन् । घाइते चारैजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी घाइते हुनेमा विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार गृह मन्त्रालयले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
कवाडी गोदाम विराटनगर ६ का दीपक मण्डलको हो, उनी पनि घटनामा घाइते भएका थिए । उनको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो।































