उत्तरी हुम्लाको तिलगाउँ हिम पहिरोको उच्च जोखिममा

हुम्ला। हुम्ला जिल्लाको नाम्खा गाउँपालिका—६ को तिलगाउँ हिम पहिरोको उच्च जोखिमा छ ।
१ जेठको राति ११ बजेदेखि आएको पहिरोले घरहरू उच्च जोखिमा परेका छन् ।

जिल्ला सदरमुकामदेखि निकै टाढा पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुकामदेखि पनि एक दिनको यात्रा गर्नुपर्ने नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।
उनका अनुुसार गाउँभन्दा धेरैमाथि हिमतालहरू फुटेर पहिरो आएको छ । घरभित्र बस्न सक्ने अवस्था छैन भने नागरिकहरू राहत र उद्धारको पर्खाइमा छन् ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

गाउँको उत्तरपट्टीबाट पहिरो आएर घर भत्काएको र मानवीय तथा पशुचौपाया क्षति नभएको खबर प्रहरीले पाए।