काठमाडौँ । स्थानीय तह कर्मचारी युनियन नेपाल काठमाडौँ महानगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
शनिबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुझ बानियाँको प्रमुख अतिथि अधिवेशन सम्पन्न भएको हो।
प्रमुख अतिथि कृष्ण सबुझ बानियाँले वडा अध्यक्षहरू पार्टी प्रतिनिधिको हैसियतमा उच्च जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका छन्।
“लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिलाई त्रास, धम्की वा हस्तक्षेपबिनै काम गर्ने वातावरण सुनिश्चित हुनुपर्छ,” उनले भने ।
वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीको अनुसार पेशागत सेवा र जनसमर्पित कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले महानगरभित्र केही कर्मचारीहरूलाई निरंकुश शैलीमा काम गर्न बाध्य पारिएको भन्दै चिन्ता पनि व्यक्त गरे।
केन्द्रिय अध्यक्ष नरबहादुर साउदले पारदर्शी र समावेशी प्रशासनका लागि युनियनको भूमिका अझ महत्वपूर्ण हुने बताए।
वक्ताहरूले स्थानीय तहका कर्मचारीहरूलाई मुलुकको समृद्धिमा योगदान पुर्याउने संवाहकको रूपमा चित्रण गर्दै उनीहरूको संगठन निर्माण, हक–अधिकारको संरक्षण तथा नेतृत्व विकासको खाँचो औंल्याए।
अधिवेशनबाट राजाराम कर्माचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
अधिवेशनको सभाध्यक्ष मञ्जु मास्केले गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए।
काठमाडौँ महानगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू, प्रवक्ता नविन मानन्धर, नगर सभापति नीलकाजी बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा सबै विभागीय प्रमुखहरू पनि उपस्थित थिए।
त्यस्तै,अधिवेशनमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, उपाध्यक्ष राधिका कुइकेल खनाल, काठमाडौं जिल्ला अध्यक्ष देवी भुसाल, बागमती प्रदेश अध्यक्ष गणेश भट्टराई, स्थानीय तह कर्मचारी युनियन नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर साउद, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेललगायतको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा ३०० भन्दा बढी महानगरका कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।































