काठमाडौं । आज देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ।
मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा रातिपनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरी आउने महाशाखाको पूर्वानुमान छ।
वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।































