काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् ।
राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरार्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए ।
प्रचण्डले भने ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तरार्धै हो । तर तपाईंहरुले देख्नुभएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’
अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए ।
उनले बुद्धिजीवीहरुलाई प्रश्न गरे, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?’
जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोर्याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।































