काठमाडौं । समता स्कुल बौद्धमा विद्यार्थीहरुले धान रोपेर अतिरिक्त क्रियाकलाप सम्पन्न गरेका छन् ।
विद्यालयकै पोशाकमा सजिएका विद्यार्थीहरुले शुक्रबार धान रोपेका हुन् ।
समता स्कुलले पढाइलाई व्यवहारिक शिक्षामा जोड दिदै आएको छ । सानैदेखि विद्यार्थीलाई काममा लगाइए पछि देशको जनशक्ति पनि बलियो हुने समता स्कुलका प्राचार्य विनोद खड्काले बताए ।
“किताबसँगै विद्यार्थीलाई व्यवहारिक शिक्षामा लगाउन सकिए भविष्यमा बेरोजगार बस्नु नपर्ने । मुठी खाएर मुरी उब्जाउने असारे धान रोपाइँको अवसरमा विद्यार्थीहरुलाई कृषि कर्म र महत्वको विषयमा ज्ञान दिने उद्देश्यले धान रोप्न लगाएको हो, “उनले भने ।
नेपाल एक कृषि प्रधान देश भएकाले प्रत्येक शहरी विद्यालयमा बाल बालिकाहरुलाई कृषि सम्बन्धि ज्ञान दिनु विद्यालयको दायित्व हुनेछ । विद्यार्थीहरुमा कृषि पेशा प्रति सकरात्मक सोच बृद्धि हुने उनको भनाइ छ ।
































