काठमाडौं । नेपालमा पहिलोपटक आँप फेस्ट-२०८१ ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।
किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आइतबारसम्म चल्नेछ ।
नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउनु फेस्टको उद्देश्य रहेको आयोजकले जनाएको छ । सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो ।
फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् ।
फेस्टको उद्घाटन पानीपोखरी स्थित वालनट बिस्ट्रोमा हुनेछ । तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ ।































