काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबारदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन्।
महामन्त्री थापा विहान ८ बजेदेखि यात्रामा निस्कने भएका हुन् । उनको संवाद यात्रा माघ २६ गतेसम्म जारी रहनेछ ।
थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने तयारीमा थापा छन् ।
‘संवाद यात्रामा जाँदै गर्दा बाटो हुलाकी राजमार्गको बनाइएको छ । तर, हुलाकी राजमार्ग हिँड्ने अभियान होइन । हुलाकी राजमार्ग वरिपरीको समुदायसँग अन्तर्क्रिया गर्ने अभियान हो,’ महामन्त्री थापाले भने।
पार्टीका कार्यकर्ता र जनताका गुनासा—सुझाव सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुनेछ ।
१३ दिने संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।
२१ जिल्लामा पार्टीका कार्यकर्ता र जनताका कुरा सुन्ने कार्यक्रम छ । कांग्रेसले भोलिदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ।
त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।
महामन्त्री थापाका अनुसार संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने छ ।
































