काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।
शुक्रबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गरेका हुन्।
आज सङ्घीय संसद्का महासचिवलाई उनले एक पत्र पठाउँदै विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन्।
सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान अनुसार सो दिन विश्वासको मत लिने उनले उल्लेख गरेका छन् ।
“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा २० बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ,” उक्त पत्रमा लेखिएको छ ।































