काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेल भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रोस्टम घेराउ र प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोज्दा धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।
बैठक बिहान ११ बजे डाकिए पनि पछि सूचनामार्फत बैठक चार बजेका लागि सारिएको थियो। गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमति नजिक पुग्ने अवस्था बनेपछि सभामुख घिमिरेले बैठक सारेका थिए।
अपराह्न चार बजेका लागि डाकिएको बैठक झन्डै ६ बजे मात्र सुरू भयो। सभामुख घिमिरेले ुबैठकको कारबाही सुरू हुन्छु भनेलगत्तै कांग्रेस सांसदहरू रोस्टम घेराउ गर्न आइपुगे। सभामुख घिमिरे अवरोधबीच बैठक अघि बढाउने मुडमा देखिन्थे जस कारण मुठभेडको स्थिति उत्पन्न भयो।
उनले कांग्रेस सांसद रोस्टममा आइपुग्दा नपुग्दै शून्य र विशेष समय हटाइएको जानकारी गराए। शून्य समयमा सांसदहरूले बोल्न १ मिनेट समय पाउँछन् भने विशेष समयमा दलीय आधारमा समय दिइन्छ।
कांग्रेसको नाराबाजीबीच सभामुख घिमिरेले प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू प्रस्तुत गर्नुपर्ने, अध्यादेश टेबल गर्नुपर्ने र नीति तथा कार्यक्रममा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल हुन नसकेको बताए। उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण सम्बन्धी पहिलो पत्र पढेर सुनाए। कांग्रेस सांसदहरूले जोडतोड साथ नारा लगाए।
सभामुख घिमिरे केहीबेर रोकिए। उनले फेरि राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाए। सत्तापक्षका सांसदहरूले टेबल ठोकेर सभामुखले कार्यसूची अघि बढाएकोमा समर्थन जनाए।
सभामुखले फेरि पनि केहीबेर रोकिएर नाराबाजीतर्फ हेरे अनि बैठक अघि बढाउनतर्फ लागे।
उनले गृहमन्त्री रवि लामिछानले सदनमा उठेका विषयमा बोल्न समय माग गरेको र उनलाई बोल्न दिनुपर्छ भन्ने कुरा आइरहेको बताए।
ुउहाँले बोल्न समय माग गर्नुभएको छ,ु घिमिरेले भने, ुत्यसैले म रवि लामिछानेलाई बोल्न समय दिन्छु।ु
गृहमन्त्री लामिछाने बोल्न भनेर रोस्टमतर्फ जान आफ्नो स्थानबाट उठेपछि उपसभामुख इन्दिरा रानामगरले बाटो छाडिदिइन्। उपसभामुखको आसन प्रधानमन्त्री र मन्त्रीहरू बस्ने लहरको देब्रेतर्फ हुन्छ। उपप्रधान एवं गृहमन्त्री बोल्न रोस्टम जाने बेला उपसभामुखले बाटो छाडिदिनुपर्छ।
उपसभामुख आसनबाट उठेपछि गृहमन्त्रीलाई बाटो छेक्न कांग्रेस सांसद धनराज गुरूङ र देवप्रसाद तिमिल्सिना पुगे। नेकपा एमालेका सांसदहरू त्यति बेला आफ्नो ठाउँबाट उठिसकेका थिए। सांसदद्वयले गृहमन्त्रीको बाटो छेकेपछि एमाले दलका नेता केपी शर्मा ओलीले कांग्रेस सांसद धनराज गुरूङलाई बोलाएर सो ठाँउबाट हट्न भने।
बुधबार नै नेकपा एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदमा पहिला गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने धारणा राखेका थिए। उनले ुकांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने भन्दै कांग्रेसलाई बोल्न नदिनेु बताएका थिए।
एमाले दलको बैठकमा ओलीको अभिव्यक्ति अनुसार नै बिहीबारको बैठकमा एमाले कांग्रेसको प्रतिवाद गर्ने मुडमा देखिन्थ्यो। ओलीले हट्न भनेपछि कांग्रेस सांसद गुरूङले थप जोडतोडका साथ नारा लगाए।
ुहामी बेल घेराउको क्रममा थियौं। सभामुख जबरजस्ती कार्यसूचीमा प्रवेश गर्नुभयो। त्यसपछि हामीले जबरजस्ती गर्न पाइँदैन भन्ने नारा लगाएका थियौं,ु गुरूङले सेतोपाटीसँग भने, ुमैले जबरजस्ती गर्न पाइँदैन भनेको हुँ। औंला उठाएर मैले तीन(चार पटक त्यही नारा लगाएको थिएँ।ु
गुरूङले आफूलाई उक्त स्थानबाट हट्न ओलीले भनेको बताए।
ुजबरजस्ती गर्न पाइँदैन भनेर म नारा लगाइरहेको थिएँ। त्यही बेला सत्तारूढ एमाले अध्यक्ष ओलीजी उठ्नुभयो। तपाईं यहाँ आउन पाउनु हुन्न भन्नुभयो,ु गुरूङले भने, ुयो चाहिँ संसदीय मर्यादाभित्र पर्दैन, मैले जानेको यत्ति हो।ु
नेकपा एमाले सांसद ठाकुर गैरेले धनराज गुरूङले गृहमन्त्रीको बाटो छेकेको बताए।
ुसभामुखज्यूले गृहमन्त्रीलाई बोल्न दिनुभयो। त्यसपछि उपसभामुख उठेर गृहमन्त्रीलाई बाटो छोडिदिनुभयो। तर नाराबाजी गरिरहेका सांसद धनराज गुरूङ आएर बाटो छेक्न खोज्नुभयो,ु गैरेले सेतोपाटीसँग भने, ुत्यस क्रममा पार्टी अध्यक्ष केपी ओलीले त्यहाँ तपाईं आउन मिल्दैन, उपसभामुखको आसनमा नउभिनूहोस्, आफ्नै ुरोु मा गएर नाराबाजी गर्नुहोस् भन्दा औंला ठड्याउनुभयो।ु
उपसभामुख इन्दिरा राना मगरले धनराज गुरूङ आफ्नो सिटमा आएपछि ओलीले ुउता जाऊु भनेको बताइन्।
ुसभामुखले समय दिएपछि मैले गृहमन्त्रीलाई बाटो छाडिदिनुपर्यो। म सधैं उभिएर बाटो छाड्छु। मेरो सिटमा धनराज गुरूङ पस्नुभयो,ु रानाले सेतोपाटीसँग भनिन्, ुकेपी ओलीले उहाँहरूलाई उता जाऊ भन्नुभयो।ु
धनराज गुरूङ र ओलीबीच बहस चलेपछि एमाले सांसदहरू ओलीको अघि आइपुगे। सांसद ठाकुर गैरे र प्रमुख सचेतक महेश बर्तौला ओलीको अगाडि उभिए। त्यसबीच रोस्टममा रहेका कांग्रेस सांसदहरू पनि त्यहीँ आइपुगे। दुवै पक्षबीच धकेलाधकेलको स्थिति बन्यो।
त्यसपछि भने सभामुख घिमिरेले हतार हतार बैठक स्थगित गरे। तर अवस्था सामान्य हुन समय लाग्यो। बैठक सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई मर्यादापालक र सांसदहरूले सुरक्षा घेरा बनाएर बाहिर निकाले।
बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ४ बजेका लागि सारिएपछि दलहरूबीच दिनभरजसो संवाद भयो।
संसद भवनमा बिहान प्रधानमन्त्री ुप्रचण्डु ले कांग्रेस सांसदहरूलाई गृहमन्त्री लामिछानेलाई बोल्न दिन आग्रह गरेका थिए। उनले संसदीय छानबिन समिति बनाउने आश्वासन कांग्रेसलाई दिए।
त्यसबीच कांग्रेस सांसदहरूले समिति बनाउने सम्बन्धी चार बुँदे कागज नै तयार पारेर प्रधानमन्त्रीलाई दिए।
जसको पहिलो बुँदामा संसदीय छानबिन समिति गठन गर्ने उल्लेख थियो। दोस्रो बुँदामा समस्याग्रस्त सहकारीका विषयमा छानबिन गर्ने उल्लेख थियो। तेस्रो बुँदामा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको गोर्खा मिडिया नेटवर्क र सो कम्पनीलाई ऋण दिएका सहकारीमाथि छानबिन गर्ने उल्लेख थियो। चौथो बुँदामा गृहमन्त्री संलग्नताबारे छानबिन गर्ने उल्लेख थियो।
प्रधानमन्त्री र कांग्रेसबीच संवाद भए पनि दिनभर एमाले कुनै दृश्यमा थिएन। एमाले समिति बनाउन नहुने अडानमै थियो। दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषदमा समिति बनाउने विषयमा छलफल गरे। एमाले कांग्रेसले समिति बनाउने बताएलगत्तै सदन खुलाउन तयार हुने आशामा थियो।
तर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समितिमा कुनै हालतमा गृहमन्त्री लामिछानेको नाम उल्लेख हुन नहुने अडान लियो। कांग्रेस सांसदहरूले तयार पारेको ड्राफ्ट प्रधानमन्त्रीलाई संसद भवनमै दिएका थिए। सत्तापक्षका सांसदहरूबीच कांग्रेसको ड्राफ्टलाई लिएर छलफल भएको थियो। तर लामिछानेको नामै किटेर छानबिन समिति गठन गर्न नसकिने अडान रास्वपाले लियो।
त्यति बेला साँझ ६ बज्न लागिसकेको थियो। संसदको घण्टी बज्यो। बैठकमा मुठभेडको स्थिति बन्यो। सहमति नजिक पुगेर पनि दलहरू धकेलाधकेलको स्थितिमा पुगे।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्तापक्षको लहरमा कांग्रेस सांसद आइपुगेकाले सदनमा उत्तेजित अवस्था बन्न पुगेको बताए।
ुगृहमन्त्रीलाई बोल्न दिने कुरा थियो। कांग्रेसले रोक्छ भन्ने पनि थियो,ु बर्तौलाले भने, ुकांग्रेसले जबरजस्ती उपसभामुखको सिटमा आएर उभिएर नरोकेको भए हामी उठ्ने थिएनौं। हाम्रो अध्यक्षले उठेर त्यहाँ मिल्दैन भन्नुभयो। अनि हामी उठेको हो।ु
उनले धनराज गुरूङ रूखो ढंगले प्रस्तुत भएको बताए।
कांग्रेस सांसद गगन थापाले भने धनराज गुरूङले नारा लगाइरहेका बेला ओलीले हप्काएको बताएका छन्।
कांग्रेसले अब संसदीय छानबिन समितिका विषयमा थप संवाद नगर्ने बताएको छ। सदनको तनावपछि पत्रकार सम्मेलन गरेर थापाले शुक्रबार ११ बजेको बैठकअघि नै सरकारले समिति ल्याउनुपर्ने बताएका छन्। उनले सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्।
सभामुखको भूमिकाप्रति हाम्रो ठूलो प्रश्न र असन्तुष्टि छ।































