हुम्ला । हुम्ला माओवादीका नेताहरुले आसन्न राष्ट्रियसभा निर्वाचनमा भोट हाल्ने निर्णय गरेका छन् ।
माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनका साझा उम्मेदवार कालिकोटका विष्णु बिकलाई भोट हाल्ने निर्णय गरेको हो ।
डा. रोकायाका अनुसार हुम्ला माओवादीका ९ बुँदे मागप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण भएको बताउँदै जिल्लाको माग सकारात्मक रुपमा सम्बोधन गर्ने प्रतिवद्धता दिएसँगै यस्तो सहमति जुट्यो ।
जिल्लाका सबै जनप्रतिनिधिहरुलाई निर्वाचनमा सक्रिय सहभागी भइ भोट हाल्न पनि निर्देशन दिइएको उनले बताए ।
हुम्ला माओवादीको बैठक लगातार तीन दिनदेखि काठमाडौंमा जारी थियो ।
गत पुस २१ गते शनिबार माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले टिकट वितरणमा नेताहरु हाबी भएको भन्दै मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थिए ।
हुम्लाबाट राष्ट्रिय सभाका लागि रोकायाको एकल नाम सिफारिस गरिएको थियो ।
तर, माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको उल्लेख गर्दै यस पटक पनि हुम्लालाई बेवास्ता गरेको बताएका थिए ।
सो बैठकले १० वटा जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थानमा हुम्ला हुँदा पनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा पारेको निष्कर्ष निकालेको थियो ।
यी मागहरु पुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता व्यक्त गरेको बैठकले जनाएको छ ।
माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङ दम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।
निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।
































