भोट नहाल्ने निर्णय गरेका हुम्ला माओवादी जनप्रतिनिधि बैठकमा, के आउला निर्णय ?

सिमकोट । आसन्न राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने निर्णय गरेका हुम्लाका आठ जना जनप्रतिनिधिको बैठक जारी छ । टिकट वितरणमा नेताहरु हावी भएको भन्दै भोट नहाल्ने निर्णय गरेका उनीहरुले अब के निर्णय गर्लान भन्ने चासो छ ।

गत पुस २१ गते शनिबार माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका थिए । माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायाका अनुसार बैठक जारी छ ।

राष्ट्रिय सभाका रोकायाको एकल नाम सिफारिस गरिएको थियो । तर, माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको उल्लेख गर्दै यस पटक पनि हुम्लालाई बेवास्ता गरेको बताउँदै आएका छन् ।

भोट नहाल्ने निर्णय गरेका उनीहरुलाई पार्टीले कारबाही गर्ने चेतावनी पनि दिइसकेको छ । अब पनि उनीहरुले भोट नहाल्ने निर्णय गरेभने गठबन्धन दलहरुलाई ठूलो धक्का लाग्ने छ ।

पुस २२ को बैठकले १० जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थानमा हुम्ला हुँदा पनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा पारेको निष्कर्ष निकालेको थियो ।

माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङ दम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सारेको छ ।
निर्वाचन पर्सि माघ १० गते हुँदैछ ।