प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

शुक्रबार शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकका समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री र कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीलाई मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

दलहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुन बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न राष्ट्रपति पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको पोखरेलले बताए।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला क्षमतावान प्राज्ञ ल्याएर विश्वविद्यालय सुधार अभियान सुरु गर्न पनि राष्ट्रपतिले आग्रह गरेका छन्।