काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरेको हो ।
गठबन्धनमा जुटेको सहमतिअनुसार १० वटै उम्मेदवारको नाम टुंगो लगाएको छ ।
जसअनुसार कोशी प्रदेशबाट अन्यमा कृष्ण सिटौला, मधेस प्रदेशबाट अन्यमा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट अन्यमा जीतजंग बस्नेत र महिलामा विष्णुदेवी पुडासैनी, गण्डकी प्रदेशबाट अन्यमा किरणवावु श्रेष्ठ र अपाङ्गताअल्पसंख्यकमा पदमबहादुर परियार छनोट भएका छन्।
लुम्बिनी प्रदेशबाट महिलामा विष्णुकुमारी सापकोटा र कर्णाली प्रदेशबाट अन्यमा कृष्णबहादुर रोकाया छनोट भएका छन्।
सुदूरपश्चिम प्रदेशबाट अन्यमा बलदेव बोहरा र अपाङ्गता अल्पसंख्यकमा नारायणदत्त भट्ट छनोट भएका छन्।
सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुँदा नेपाली कांग्रेसले १० उम्मेदवार उठाउने सहमति भएको थियो। गठबन्धनका अन्य दलहरु माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ जना उम्मेदवार उठाउने सहमति भएको थियो।
उम्मेदवारहरुको मनोनयन पत्र दर्ताका लागि आज सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्रधारण गरेको छ।
































